Logo

धरानमा ब्रेक फेल बस घरमा ठोक्किँदा ५ जनाको ज्यान गयो, ८ घाइतेको अवस्था गम्भीर



सुनसरी, ४ माघ । सुनसरीको धरानमा भेडेटारबाट शहरतर्फ आउँदै गरेको एक बस ब्रेक फेल भई घरमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा परेका मृतकको पहिचान हालसम्म खुल्न नसकेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक भीषणबहादुर राईले जानकारी दिएका छन्।

प्रहरीका अनुसार बस अनियन्त्रित भई घरमा जोतिएपछि त्यहाँ रहेका स्थानीय व्यक्तिहरू दुर्घटनाको चपेटामा परेका हुन्। दुर्घटनामा घाइते भएका नौ जनामध्ये आठ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना गरिएको छ।

बस ठोक्किएको घरमा मेडिकल पसलसमेत सञ्चालनमा रहेको बताइएको छ। मेडिकल भएकाले उपचारका लागि आएका स्थानीयहरू पनि दुर्घटनामा परेका हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

कन्सलटेन्सीको नाममा सञ्चालनमा रहेको उक्त बसमा यात्रु सवार थिए वा थिएनन् भन्ने विषयमा अझै पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्