Logo

धरौटीबापतको बैंक ग्यारेन्टी बुझाउन बालकृष्ण खाण अदालतमा



काठमाडौँ, २९ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

बिहीवार उच्च अदालत पाटनले खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै त्यसको प्रक्रिया पुर्‍याउन उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको हो । खाणले जिल्ला अदालत पुगेर ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएका छन् ।

अदालतमा उनले धरौटी रकमअनुसारको बैंक ग्यारेन्टी बुझाए पनि छुट्न केही समय लाग्नेछ । अब सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि खाणलाई छोडिने छ ।

खाण गएको वैशाख २७ गते बिहान काठमाडौँको मैजुबहाल घरबाट पक्राउ परेका थिए । खाणसहित यो प्रकरणमा मुछिएका पूर्वमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेलगायतलाई गएको असार १ गते पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको थियो । त्यसपछि खाणसहितका आरोपीहरू उच्च अदालत पाटन गएका थिए ।

उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा यही मङ्सिर १५ गते खाणलाई छाड्ने वा थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशहरूको राय बाझिएको थियो । त्यसपछि हिजो तेस्रो न्यायाधीशकहाँ पेस हुँदा उहाँलाई धरौटीमा छाड्ने आदेश भएको हो ।

प्रतिक्रिया दिनुहोस्