Logo

धर्मविहीन राष्ट्रियता र राजनीति हुन सक्दैन: अध्यक्ष लिङदेन



काठमाडौँ, ८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले धर्मविहीन राष्ट्रियता र राजनीति हुन नसक्ने बताएका छन् ।

काठमाडौँमा आयोजित राष्ट्रियता र धार्मिक सहकार्यको भावी मार्गचित्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै लिङ्देनले धर्मलाई राजनीतिबाट अलग गर्दा अहिलेको अवस्था आएको टिप्पणी गरेका हुन् ।

‘धर्म निरपेक्षता हुँदा आफ्नै नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने वुद्धि आउँछ ।’ लिङ्देनले भने, ‘धर्मसहितको राजनीति गर्नुपर्छ अनि मात्रै राजनीति शुद्ध र पवित्र हुन्छ ।’

धर्म निरपेक्षता ल्याउनुमा आफूलाई हिन्दु हुँ भन्नेहरू नै दोषी रहेको उनको आरोप थियो। बाहिर हिन्दु धर्मको प्रचार गर्ने तर भोट धर्म निरपेक्षतावादीलाई भोट हाल्ने प्रवृत्तिले हिन्दु राष्ट्र कायम गर्न नसकिने बताए ।

त्यस्तै अध्यक्ष लिङ्देनले माओवादीको एजेण्डा भए पनि कांग्रेसले त्यसमा लाहाछाप लगाएका कारण संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता भित्रिएको टिप्पणी गर्दै लिङ्देनले अहिलेको व्यवस्थाका लागि माओवादीभन्दा कांग्रेस बढी दोषी भएको बताए ।

एमालेसँग मात्र मिल्यो भन्ने आरोप लाग्ने गरेको भन्दै लिङ्देनले कांग्रेसले अछुतको जस्तो व्यवहार गर्ने भएकाले मिल्न नसकेको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्