कास्की, ३० वैशाख । धवलागिरि हिमालमा बेपत्ता भएका एक पुरुषकाे शव सात महिनापछि भेटिएको छ ।
उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका-१ का २७ वर्षीय देव लामाको शव भेटिएको जानकारी दिएका हुन् ।
पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आजै घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ लगिएको छ ।
‘गएकाे असोज २० गतेदेखि बेपत्ता भएका लामाका आफन्तको अनुरोधमा खोजी गर्ने क्रममा हिउँले पुरिएको अवस्थामा शव भेटिएको हाे’ उनले भने, ‘नेपाली सेनाको हेलिकप्टरले लामाको शव आजै काठमाडौँ लगेको छ।’
शेरचनसहित सेनाका दुई जना, दुई जना शेर्पा र देवका काका सुनिल लामाको टोली फ्रेञ्च पासमा पुगेर शव ल्याएका हुन् । काठमाडौँ फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनीमार्फत् विदेशी पर्यटक लिएर धवलागिरि आधार शिविर पुगेका लामा बेपत्ता भएका थिए ।







