धादिङ, ५ कार्तिक । धादिङमा भूकम्पका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।
बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी दर्बुङघाट केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु र आसपासका क्षेत्रका केही घरमा क्षति पुगेको छ ।
ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैका अनुसार भूकम्पका कारण दुई वटा घरमा पूर्ण क्षति पुगेको छ भने १० वटा घरमा आंशिक क्षति भएको छ ।
उनका अनुसार भूकम्पपछि वडा नम्बर ५ को एक ठाउँमा ठूलो पहिरोसमेत गएको छ । भूकम्प गएपछि बिहान त्यस क्षेत्रमा केहीबेर विद्युत् आपूर्ति बन्द भएको थियो । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई घर बाहिरै सुरक्षित बस्न भनिएको हो ।
वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले भूकम्पपछि लगातारजसो परकम्प आइरहेकाले सचेत हुन आग्रह गरेका छन् । बिहान भूकम्प गएपछि धादिङका धेरै ठाउँका बासिन्दा घर बाहिर निस्किएका थिए ।
भूकम्पको धक्का काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो । भूकम्प गएको क्षेत्र गोरखासँग सीमा जोडिएको क्षेत्र हो । यसअघि गएको असोज महिना बझाङ केन्द्रबिन्दु बनाएर पटक पटक भूकम्प गएको थियो ।






