काठमाडौँ, १८ पुस । अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि देशको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ ।
नेपालमा चामलको राष्ट्रिय आवश्यकता करिब ४० लाख मेट्रिक टन रहेकामा ३५ लाख २० हजार मेट्रिक टन आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमान छ । पछिल्लो वर्षमा धानको समग्र राष्ट्रिय उत्पादन बढेको तथा चामलको आयात घटको अवस्थामा पनि यस परिमाणको चामल कमी हुने देखिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
चामलको उपभोग करिब एक सय २१ केजीप्रति व्यक्ति प्रतिवर्ष हुने देखिन्छ । यस हिसाबले चामलको आवश्यकता करिब ४० लाख मेट्रिक टन चामल रहने देखिन्छ । अघिल्ला आर्थिक वर्षको तुलनामा आव २०७८/७९ मा धान/चामल/कनिकाको आयात भने करिब चार अर्ब अर्थात् ६ दशमलव ३ प्रतिशतले घटेको थियो ।
आव २०७८/७९ को पाँच महिनाअर्थात् मङ्सिरसम्मको तुलनामा ३८ दशमलव २ प्रतिशतले कमी आएको आँकडाले देखाएको छ । यसैबीच, मन्त्रालयको तथ्याङ्कअनुसार,देशमा चैते र वर्षे गरी १४ लाख ४७ हजार सात सय ८९ हेक्टर क्षेत्रफलमा धान लगाउने गरिएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । अहिले धानको समग्र राष्ट्रिय उत्पादन ५४ लाख ८६ हजार चार सय ७२ मेट्रिक टन र उत्पादकत्व ३ दशमलव ७९ मेट्रिक टन प्रतिहेक्टर रहेको मन्त्रालयको प्रारम्भिक अनुमान छ ।
गएको आर्थिक वर्ष २०७८/७९ को तुलनामा यस आवमा धानको समग्र क्षेत्रफलमा दुई प्रतिशतले कमी आएको देखिएको छ भने उत्पादनमा ६ दशमलव ९४ प्रतिशतको वृद्धि भएको छ । समग्र नेपालको, प्रदेशगत र जिल्लागत चैते धान र वर्षे सिजनको धानको क्षेत्रफल, उत्पादन र उत्पादकत्वको गरिएको विवरण सार्वजनिकमा तथ्याङ्क देखाइएको छ । नेपालमा धानका अत्यन्त लोकप्रिय जात हर्दिनाथ, खुमल, राधा, स्वर्ण सव हुन् ।