Logo

धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा छैन: देउवा



काठमाडौँ, ९ भाद्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा नरहेको बताएका छन् ।

उनले कसैको धर्म, संस्कृतिप्रति कसैले दक्खल पुर्‍याउन उचित नहुनेमा जोड दिएका हुन् ।

शनिबार सार्वजनिक अपिल जारी गर्दै उनले केही दिनयता सुनसरीको धरानमा भएको धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधिप्रति चिन्ता व्यक्त गरेका छन् ।

“।।। नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याई आ-आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन । साथै, कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दक्खल पुर्‍याउन पनि उचित हुँदैन,” धरानको घटनाका सम्बन्धमा पार्टीको अपिलमा उनले भनेका छन् ।

त्यस किसिमका गतिविधिले राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य-अदृश्य शक्तिलाई सहयोग पुग्ने उनको भनाइ छ । “।।। यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो,” उनले उल्लेख गरेका छन् ।

सभापति देउवाले सबै जाति, धर्म र सम्प्रदायबीचको आपसी एकता एवं सद्भाव कायम राख्ने कार्यमा जुट्न सरोकारवालालाई आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्