झापा, ११ मंसिर । मेचीनगर नगरपालिका–९ र १० स्थित धुलाबारी बजार क्षेत्रमा सडक अतिक्रमण गरेर वर्षौदेखि बनाइएका घर टहरा नगरापालिकाले आजदेखि हटाउन थालेको छ । विश्व बैंकको सहयोगमा सडक स्तरोन्नति हुन लागेकाले अतिक्रमित संरचना छिटो हटाउनु पर्ने बाध्यता भएको नगरप्रमुख गोपाल बुढाथोकीले बताउनुभयो ।
धुलाबारी बजार क्षेत्रको सहिद मार्गमा विश्व बैंकको सहयोगमा सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना अन्तर्गत रु २७ करोड २१ लाख तीन हजार नौ सय ३१ बजेटमा पाँच दशमलव तीन किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति सुरु गरिएको छ ।
उक्त सडक १२ मिटर चौडाइ, दुई लेन र ड्रेनसहित बन्ने भएको हो । सडकको पूर्वतर्फको आधा भागमा ठूला पक्की घर र पसल वर्षौं अघि थिए । आज बिहानदेखि नगरपालिकाका नगर प्रहरीहरु डोजरसहित ती संरचना भत्काउन खटिएका छन् । धुलाबारी मोडदेखि उत्तरतर्फ एक सय मिटरको दूरीमा रहेका अतिक्रमित सबै संरचना भत्काइएका छन् ।
भत्किएको स्थानबाट घरधनी तथा पसलेहरूले आफ्ना सामान सुरक्षित स्थानमा सारेका छन् ।