मेचीनगर, ७ फागुन । मेचीनगर-९ मा आयोजना भएको प्रथम वडाध्यक्ष फुटबल कपको उपाधि धुलाबारी बजार क्षेत्रले हात पारेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा माथिल्लो मागुरमाडीलाई ३-२ गोल अन्तरले हराउँदै धुलाबारीले उपाधि हात पारेको हो ।
वडा नम्बर ९ स्थित कवि शिरोमणी माविको खेल मैदानमा भएको पहिलो हाफको आठौँ मिनेटमै १ गोलको अग्रता लिएको माथिल्लो मागुरमाडीले अग्रतालाई कायम राख्न नसक्दा हार व्याहोर्नु परेको थियो ।
धुलाबारीले दोस्रो हाफमा भने उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गर्न सफल भयो । जस्ले गर्दा जितलाई सहज बनायो । खेलको ४० औँ र ४२ औँ मिनेटमा गोल गर्दै धुलाबारीले खेलमा अग्रता बनाएको थियो । त्यस्तै ६० औँ मिनेटमा थप १ गोल गर्दै धुलाबारीले ३ गोल गर्न सफल भयो ।
खेलको अन्त्यतिर मागुरमाडीले १ गोल फर्काए पनि २ गोलमा चित्त बुझाउनु पर्यो । उपाधिसगैँ धुलाबारीले नगद ४० हजार र उपविजेता टिम मागुरमाडीले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको वडा सदस्य एवम् खेलकुद विकास समितिका संयोजक राजन खड्काले बताए ।
गत माघ २७ गतेबाट सञ्चालन भएको प्रतियोगितामा मेचीनगर-९ को ९ वटा टोलका ९ वटा टिमको सहभागिता रहेको थियो ।
मेचीनगर-९ का वडाध्यक्ष कञ्चन तामाङको अध्यक्षतामा भएको फाइनल खेलको समापनका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले खेलाडीलाई बल दिएर प्रतियोगिता सुरु गरेका थिए ।
उक्त फाइनल खेलको सञ्चालन खेलकुद विकास समितिका सचिव राजु धिमालले गरेका थिए ।