Logo

नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने ट्राभल एजेन्सी सञ्चालकदेखि कर्मचारीसम्म पक्राउ



काठमाडौँ, २७ मङ्सिर । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारी गरी अहिलेसम्म ३२ जनालाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरका अनुसार गएको असोज १९ देखि अहिलेसम्म ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ । नक्कली कागजपत्र बनाई भिजिट भिसामा विदेश पठाउने प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरू रहेका छन् ।

अहिले ९ जनाको सङ्गठित अपराधमा अनुसन्धान भइरहेको, त्यस्तै लिखतसम्बन्धी कसुरमा १२ जनाको अनुसन्धान भइरहेको र ८ जना धरौटीमा छुटिसकेका कार्यालयका एसएसपी राठौरले जानकारी दिए । आज मात्रै थप ३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको उनले बताए ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पन्थीका अनुसार पक्राउ पर्ने ट्राभल एजेन्सीका सञ्चालकहरूमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एन्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल रहेका छन् ।

त्यस्तै एडभान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पनि पक्राउ परेका उनले जानकारी दिए । पक्राउ पर्नेहरूमा अध्यागमन विभागका अध्यागमन अधिकृत नरवीर खड्का, नेपाल एअरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल रहेका छन् ।

कागजात मिलाएबापत ट्राभल एजेन्सीहरूले प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने गरेका र अध्यागमन विभागका कर्मचारीहरूले नयाँको हकमा ५५ हजार र पुरानोको (एक पटक विदेश पुगेर फर्किएका) हकमा भने ४० हजार रुपैयाँ लिने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्