Logo

नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने १० जना पक्राउ



काठमाडौँ, २४ वैशाख । झुटा विवरण पेश गरी १० भारतीयले नेपाली नागरिकता लिएको पाइएको छ । यसरी सक्कली नागरिकता प्राप्त गरेपछि भारतीयले घर जग्गा खरिद गरी व्यापार व्यवसाय गरिरहेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

भारतको उत्तर प्रदेशका उनीहरुले तराईका जिल्लाहरु सिराहा, बारा, पर्सा, रुपन्देहीलगायतबाट नेपाली नागरिकता लिइएको भेटिएको छ । उनीहरुलाई पक्राउ गरी आज थप कारबाहीका लागि कार्यालयले जिल्ला प्रहरी परिसर टेकु बुझाएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

उनीहरुलाई काठमाडौँको शङ्खमुल, कलङ्की, बागबजार, गोङ्गबु, बानेश्वरलगायतका स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो । उनीहरुलाई नागरिकता ऐन तथा लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाही गरिने जनाइएको छ । पक्राउ पर्नेमा राहुल गुप्ता, भरतप्रसाद गुप्ता, ज्ञानमतीदेवी गुप्ता, गोपाल गुप्ता, रामसुन्दर गुप्ता, रामप्रवेश गुप्ता, भरत गुप्ता, स्नेहलता गुप्ता, मिनादेवी गुप्ता र राजेशकुमार गुप्ता रहेका छन् ।

भरतप्रसाद गुप्ताले सिरहाको रामनगर मिर्चैया-२ बस्ने शिव शङ्करप्रसाद गुप्ताको छोराको नाममा २०६३ मै जन्मको आधारमा नेपाली नागरिकता लिएको देखिएको छ । राहुल गुप्ताले भरतप्रसाद गुप्ताको छोरा बनेर नागरिकता लिएको पाइएको छ । पक्राउ परेकी अर्का भारतीय नागरिक ज्ञानमतीदेवी गुप्ताले भरतप्रसाद गुप्ताको श्रीमती बनेर वैवाहिक अङ्गिकृत नेपाली नागरिकता लिएको पाइएको छ । पक्राउ परेका अर्का भारतीय नागरिक भरत गुप्ताले जिल्ला प्रशासन कार्यालय बाराबाट जन्मका आधारमा नागरिकता लिएको पाइएको छ ।

स्नेहलता गुप्ताले जिल्ला बारा निजगढ-८ बस्ने रामेश्वरप्रसाद गुप्ताको छोरी बनेर बंशजको आधारमा नागकिरता लिएको पाइएको छ । गोपाल गुप्ताले जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट नेपाली नागरिकता लिएको देखिएको, राजेशकुमार गुप्ताले जिल्ला बाराका दिनेशप्रसाद गुप्ताको छोरा बनेर जन्मको आधारमा नागरिकता लिएका छन् ।

मिनादेवी गुप्ताले जिल्ला बारा निजगढ-८ बस्ने रामानन्द साहको छोरी राजेशकुमार गुप्ताको श्रीमती बनेर बंशजको आधारमा, रामप्रवेश गुप्ताले मोहन गुप्ताको छोरा बनेर रुपन्देहीबाट, रामसुन्दर गुप्ताले मोहन गुप्ताको छोरा बनेर नागरिकता लिएका छन् ।

उनीहरुको सन् २०२१ देखि हालसम्म पनि भारतीय मतदाता नामावलीमा विवरण अद्यावधिक रहेको पाइएको छ । प्रहरीले उनीहरुबाट नेपाली नागरिकतासहित भारतीय राजदूतावासबाट भारतीय नागरिक भएको सिफारिस पत्र, भारतीय सवारी चालक अनुमतिपत्र, भारत सरकार आयकर विभागको कार्ड, भारतीय पासपोर्ट, भारतीय आधार कार्डलगायतका कागजात बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्