Logo

नक्कली नेपाली नोटसहित एकजना पक्राउ



काठमाडौँ, २१ भदौ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा गोरखा जिल्लाको गोरखा नगरपालिका–४ धारापानी घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–८ भीमढुङगा बस्ने ३८ वर्षीय गौरव थापा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू क्षेत्रमा नक्कली नेपाली नोटको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले रू एक लाख (एक हजार दरका एक सय थान) नक्कली नेपाली नोटसहित निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले जनाएको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई आज काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३ बस्ने ५२ वर्षीय हरिभक्त पराजुली रहेका कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

उनले भने,“काठमाडौँ जिल्ला अदालत बबमहलबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी पराजुलीलाई कार्यालयबाट खटिएको प्रहरीको टोलीले आज ललितपुर महानगरपालिका पुलचोकबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज काठमाडौँ पठाइएको छ ।”

प्रतिक्रिया दिनुहोस्