Logo

नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी



काठमाडौँ, २४ वैशाख । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अर्बौ रकम ठगी गरेको घटनाको छानबिनको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ ।

बैठकको प्रारम्भमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुले सो विषयमा धारणा राखेका थिए ।

नेकपा (एमाले) संसदीय दलका सचेतक महेशकुमार बर्तौलाले अहिले सिङ्गो मुलुकको ध्यान नक्कली शरणार्थी बनाएर लैजाने घटनामा केन्द्रित भएको भन्दै यसमा संलग्नलाई छानबिनको दायरामा ल्याउन माग गरेका थिए । “सत्यतथ्य, पादरदर्शी ढङ्गले छानबिन गरियोस्, तर हामी आज सुन्दैछौँ, सोही घटनामा संलग्न भएका केही व्यक्तिलाई छाड्न बयान फेर्ने काम भइरहेको छ”, उनले भने ।

त्यस्तै सांसद पदम गिरीले जुनसुकै समयमा भएका अनियमितताका घटनालाई छानबिनको दायरमा ल्याउनुपर्ने बताए । सांसद सूर्यबहादुर क्षेत्रीले दोषीलाई कारबाही होस्, निर्दोषलाई नफसाइयोस् भने ।

सांसद माधव सापकोटाले प्रमुख प्रतिपक्षीले संसद् कब्जा गर्ने उद्देश्यले विषयान्तर गरिरहेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीलाई प्रहरी समक्ष बुझाउन आग्रह गरेका थिए ।

त्यसैगरी सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति कारबाहीको भागिदार हुन तयार हुनुपर्ने बताए । उनले भ्रष्टाचारीलाई जोगाउने काम बन्द हुनुपर्ने बताएका छन् ।

त्यसैगरी सांसद ज्ञानबहादुर शाहीले नक्कली भुटानी शरणार्थी बनाउने घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका थिए । सांसद अमरेशकुमार सिंहले राजनीतिक दलका नेताहरु विभिन्न भ्रष्टाचारसम्बन्धी घटनामा मुछिएका उदाहरण पेश गर्दै नक्कली भुटानी शरणार्थी घटनामा संलग्न नेता र कर्मचारीलाई कारबाही गर्न माग गरेका थिए ।

त्यस्तै सांसद् प्रेम सुवालले नक्कली भूटानी शरणार्थी प्रकरणसम्बन्धी घटनाको निस्पक्ष अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यसैगरी सांसद प्रदीप यादवले तत्काल नागरिकता विधेयक जारी गर्न माग गरे । सांसद रघुजी पन्तले नागरिकता विधेयक वर्तमान राष्ट्रपतिबाट जारी गर्ने विषय कानुन सम्मत नभएको बताए ।

त्यसैगरी सांसद सुनील शर्माले भुटानी शरणार्थीका विषयमा पक्राउ परेकालाई संसद्मा ल्याएर बयान दिलाउन सभामुखको ध्यानाकर्षण गराएका थिए । सांसद सरिता प्रसाईँले भ्रष्टाचारीलाई कुनै पनि पार्टीले संरक्षण गर्नुहुन्न, निर्दोष उम्कनुहुन्न भन्नि ।

त्यस्तै सांसद मञ्जुकुमारी मिश्रले भ्रष्टाचारका सम्बन्धमा सबै पार्टीले समान धारणा बनाएर दोषीलाई कानुनी दायरामा ल्याइनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्