Logo

नक्कली भुटानी शरणार्थी प्रकरण ः थप व्यक्ति अनुसन्धानको घेरामा



काठमाडौँ, ३० वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान सोझ्याएको छ । पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि प्रहरीले अनुसन्धानको दायरा अझ फराकिलो बनाउन लागेको हो ।

सरकारद्वारा गठित कार्यदलले तयार पारेको प्रतिवेदन तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बुझाइएको थियो तर सो प्रतिवेदन हालसम्म गोप्य छ । गिरोहले सक्कली प्रतिवेदन प्राप्त गरी त्यसको अनुसूचीमा अन्य व्यक्तिको नाम थपेको हो । गोप्य रहेकै बेला गिरोहले यति ठुलो चलखेल गरेको अनुसन्धान प्रहरीले गरिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले प्रतिवेदनको विषयमा गृह मन्त्रालयमार्फत छानबिन भइरहेकाले बोल्न उचित नहुने बताए । नक्कली प्रतिवेदन तयार गर्न गृह मन्त्रालयका को–को कर्मचारी वा तत्कालीन नेतृत्व संलग्न थिए भन्नेबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्कीले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तथा अन्य व्यक्तिमाथि अनुसन्धान भइरहेको जानकारी दिए । कार्कीले अनुसन्धान तथ्य प्रमाणका आधारमा भइरहेकाले दोषी नउम्कने र निर्दोष नफस्ने गरी निष्पक्ष छानबिन हुने बताए ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहको योजना अनुरूप २०७६ वैशाखमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनमा कार्यदल गठन भएको थियो । पूर्वसहसचिव बालकृष्ण पन्थी संयोजक तथा गणेशबहादुर केसी विज्ञ र दीपकप्रसाद न्यौपाने सदस्य सचिव रहेको कार्यदलले झापा, मोरङलगायतका जिल्लामा पुगेर तेस्रो मुलुक जान छुटेका शरणार्थीको पुनः प्रमाणीकरण गरेको थियो ।

नक्कली भुटानी शरणार्थी बनी अमेरिका जान पर्खेका पीडितले ठगिएको भन्दै काठमाडौँ प्रहरीमा उजुरी दिएपछि मात्र गृह मन्त्रालयबाटै कुनै गलत काम भएको सूचना पाएको प्रहरीले निकै चलाखीपूर्ण रूपमा अनुसन्धान सुरु गर्यो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार गृह मन्त्रालयले अतिगोप्य रूपमा राखेको प्रतिवेदन झिकाएर अनुसन्धान गर्न खोज्नु प्रहरीका लागि आफैँमा चुनौतीपूर्ण काम थियो । प्रहरी परिसर काठमाडौँले प्रहरी प्रधान कार्यालयमार्फत पत्र लेखेर सो प्रतिवेदन झिकायो । गृह मन्त्रालयबाट प्राप्त प्रतिवेदन सामान्य प्रकृतिको रहेकाले प्रहरीलाई चुरो कुरो पत्ता लगाउन कठिन भयो ।

प्रहरीले आफूहरूले प्राप्त गरेका दुई वटा प्रतिवेदन फरक फरक रहेको पाइएको दाबी गरेको छ । नक्कली भनिएको उक्त प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगेको नभई गृह मन्त्रालयमै हेरफेर भएको पाइएको छ ।

कार्यदलको उक्त प्रतिवेदनमा संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालय (युएनएचसिआर) र जिल्ला प्रशासन कार्यालय, झापामा रहेको शरणार्थी समन्वय एकाइ (आरसियू)ले पहिचान गरेको भनी ४२९ जनाको नाम अनुसूचीमा राखेर थपेको पाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँमा १०६ जना पीडितका २० थान उजुरी दर्ता गराएका थिए । उक्त प्रकरणमा उच्चपदस्थ अधिकारी पक्राउ परेपछि थप पीडित परिसरमा उपस्थित भएर मौखिक उजुरी दर्ता गराएका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार पीडितको सङ्ख्या झन्डै नौ सयको हाराहारीमा हुन सक्ने अनुमान छ । गिरोहले झन्डै एक अर्ब रुपियाँभन्दा बढी रकम ठगी गरेको अनुमान गरिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्