Logo

शरणार्थी प्रकरणमा मुछिएका सबैको अनुसन्धान गर्नु पर्छ ः वाग्ले



काठमाडौँ, ३१ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् अर्थविद् डा.स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरु सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित नक्कली भुटानी शरणार्थीसम्बन्धि बहस कार्यक्रममा उनले सो प्रकरणमा मुछिएका सबैलाई प्रहरीको अनुसन्धानको दायरामा ल्याउन ध्यान दिनुपर्ने बताएका हुन् ।

अपराध करार गर्ने भन्दा पनि ती पात्रहरुलाई सोधखोजका लागि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनको भनाई थियो । सांसद वाग्लेले सो प्रकरण संगठित अपराध भएकाले अब नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रम सात दिन बाँकि रहेकाले त्यसमा सबैले सहयोग गर्नुपर्ने औंल्याएका थिए ।

उनले आफ्नो पार्टीको जोड पनि त्यतै रहेको स्पष्ट पारे । सांसद वाग्लेले सो प्रकरणमा अमेरिकी विदेश मन्त्रालय, संयुक्त राष्ट्रसंघीय निकाय र नेपालस्थित अमेरिकी दूतावासको चासो रहनु स्वाभाविकै हुने पनि बताए ।

उनले यो प्रकरणलाई ठगी, कीर्ते, मानव तस्करी, अन्तरराष्ट्रिय संगठित अपराध र राजद्रोहसरह लिनुपर्ने बताएका छन् ।

सांसद वाग्लेले भने, ‘अब युएनसिएचआरको संलग्नता हुन्छ नै संयुक्त राष्ट्र संघको मातहत भएको हुनाले पनि । अमेरिकामा १ लाख १० हजार भुटानी शरणार्थी त्यहाँ पुनर्वासका लागि जानु भएको हुनाले त्यहाँको विदेशमन्त्री, यहाँको स्थानीय राजदूतको चासो रहला नै । अहिलेलाई मेरो बुझाईमा नेपाल प्रहरीको ६० दिने अनुसन्धानको क्रममा छ । त्यो अनुसन्धान र्‍यापअप हुन अब ७/८ दिन बाँकि छ । अहिले हामी सबैले ध्यान दिनुपर्ने विषय यी नाम आएकाहरु, पोलिएकाहरुलाई कम्तिमा सोधखोजका लागि ल्याउनु पर्‍यो । अहिले नै अपराधी करार गर्ने होइन तर नाम आईसकेपछि कम्तीमा पनि त्यो सोधखोजका लागि पनि ती नाम आएका पात्रहरु लिएर आउनु पर्छ र हाम्रो बल पनि त्यतैतिर हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्