मोरङ, २० पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनाश नभई विकासका लागि अगाडि बढाउनु अपरिहार्य रहेको बताएका छन् ।
केशलिया-बूढीखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले विनाश मात्र नभई विकास गर्ने बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले यस क्षेत्र भएर बग्ने केशलिया बूढीखोला नदीको सौन्दर्यकरण एवं विकासले यहाँका जनताको आर्थिक समृद्धि एवं रोजगारमा वृद्धि हुने बताए । करिडोर बनेसँगै बर्जु गाउँपालिकामा निर्माण हुने विशेष आर्थिक क्षेत्र (सेज)मा सहज पहुँचले प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने उनले धारणा राखेका थिए ।
मुख्यमन्त्री कार्कीले सरकारले समृद्धिको पाइला चाल्न जनताको पैसा सही ठाउँमा सदुपयोग गर्ने अठोट गर्दै प्रदेशको एक सय ३७ पालिकाका जनताको जीवनस्तर उकास्नका लागि प्रतिबद्धता जनाए । उनले परियोजना अन्तर्गतको नदीमा बाँध निर्माण तत्काल सुरु हुने घोषणा गरेका थिए ।
अध्ययन प्रतिवेदन निर्माण कर्ताद्वय महेन्द्र सुब्बा र प्रशान्त मल्लले दुहवी नगरपालिका, बूढीगङ्गा, बर्जु गाउँपालिका तथा विराटनगनगर महानगरपालिकालाई छुने उक्त परियोजनाको लागत रु एक अर्ब ३२ करोड रहेको जानकारी दिए । आगामी तीन वर्षमा सम्पन्न गरिने उक्त परियोजनाले दुहवीदेखि विराटनगर रानीको भारतीय सीमा क्षेत्रसम्म खोलाको दुवैतर्फ ४२ किलोमिटर बाटो निर्माण हुनाका साथै खोलामा बाँध निर्माण र सौन्दर्यकरण गरिने उल्लेख गरिएको छ ।






