काठमाडौँ २५ फागुन । नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारूढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छन् ।
शुक्रबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले वर्तमान सत्तारूढ गठबन्धन शुद्ध नभएको बताएकी हुन् ।
उनले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नु परेको बताइन् । उनले विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको बताएकी छन् ।
‘आर्थिक स्रोत जुटाऔँ र कार्यक्रमहरू थप्दै जाउँ आर्थिक मन्दी भएको छ, आर्थिक गतिविधि बढाऔँ भन्दा अर्थ सम्हालेको मन्त्रीले मान्दैन । मन्त्री फेरौँ भन्दा नेताले मान्दैन । त्यसैले नयाँ गठबन्धन बन्यो । त्यो पनि शुद्ध त छैन । अब जीवन, व्यवहारले पुष्टि गर्छ । केही मान्छे त विवादित छन् नि । तर पनि हाम्रो संख्या पुग्दैन । गठबन्धन गर्नुपर्छ । बहुमत पुर्याउनुपर्छ । यो बाध्यता त हुन्छ,’ उनले भनिन् ।
उपाध्यक्ष भुसालले वर्तमान गठबन्धन विगतको भन्दा सजातीय भएको पनि बताइन् । उनले गठबन्धनमा वामपन्थीहरूको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने बताइन् ।





