काठमाडौँ, २१ असोज । नेपाल राष्ट्र बैंकले यसवर्ष चाडपर्व लक्षित नयाँ तथा सुकिलो नोट सटही घटस्थापनाको दिन नजिक पारेर सुरु गर्ने तयारी गरेको छ । यस वर्ष पनि गतवर्ष जस्तै चाडपर्वका लागि सबै दरका गरेर प्रतिव्यक्ति साढे १८ हजार हाराहारीमा नोट सटही गरिने मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरेश शाक्यले जानकारी दिए ।
कार्यकारी निर्देशक शाक्यका अनुसार सर्वसाधारणले रु ५, रु १०, रु २०, रु ५० र रु १०० दरका एक–एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँका नयाँ तथा सफा नोट सटही गर्न पाउने छन् । करिब १० अर्ब रुपैयाँबराबरको नयाँ नोट सटही हुने लक्ष्यस्वरूप तयारी भइरहेको उनले जानकारी दिए ।
‘सम्भवतः घटस्थापनाको भोलिपल्ट अर्थात् असोज २९ गतेबाट आम सर्वसाधारणलार्ई सुकिलो तथा नयाँ नोट सटही सुरु गर्ने तयारी छ । यसबारे आइतबार, सोमबारतिर अन्तिम टुंगो लाग्छ,’ उनले अन्नपूर्णलाई भने । गत वर्षको तुलनामा यसवर्ष सटही खुलाउनमा ढिलाइ हुने देखिएको छ । गत वर्ष भने असोज १० गते घटस्थापना आउनु ८–१० दिनअघिबाटै नयाँ नोट दिन सुरु गरिएको थियो । जबकि गत वर्ष सरकारी स्वामित्वका बैंकहरूले भदौ ३० देखि सर्वसाधारणलाई र अन्य केही निजी बैंकहरूले असोज २ गतेदेखि सर्वसाधारणमा सटही खुला गरेका थिए ।
नेपाल राष्ट्र बैंकले असोज १९ गतेदेखि रुपैयाँ २० दरको ९ लाख ९९ हजार ९ सय ९९ थान नयाँ नोट प्रचलनमा ल्याएको छ । केन्द्रीय बैंकले शुक्रबार सूचना प्रकाशन गर्दै सो नोट चलनचल्तीमा ल्याएकोबारे सर्वसाधारणका लागि जानकारी दिएको हो । केन्द्रीय बैंकले २० रुपैयाँ दरको नोट साबिककै आकार तथा रङमा प्रचलनमा ल्याएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।