Logo

नयाँ पुस्तालाई पार्टीको नेतृत्व सुम्पिन आफू सधैँ तयार: लिङ्देन(भिडिओ)



झापा, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ पुस्तालाई पार्टीको नेतृत्व सुम्पिन आफू सधैँ तयार रहेको बताउनुभएको छ ।

आइतबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा लिङ्देनले पार्टीको आन्तरिक नेतृत्वबारे पनि महत्त्वपूर्ण धारणा राखे। उनले युवा र नयाँ पुस्तालाई पार्टीको नेतृत्व सुम्पिन आफू सधैँ तयार रहेको बताउनुभयो।

“पार्टीलाई नयाँ ढङ्गबाट अगाडि बढाउन अन्य देशबाट मान्छे ल्याउने त होइन,” उहाले भन्नुभयो, ”हामीले देशभित्रैबाट खोज्ने हो। म त जहिले खुल्ला छु नयाँ तथा युवाले पार्टीको नेतृत्व गर्नुपर्छ भन्नेमा।”

लिङ्देनले पार्टीमा मानिसहरू केवल उनलाई नेता मान्न मात्र नआउने, आफैँ नेता बन्न पनि आउने गरेको बताउनुभयो। यसले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र नयाँ सम्भावनालाई प्रस्ट पार्ने उहाको भनाइ थियो।

उहाले यस क्रममा कहिलेकाहीँ गलत मानिसहरू पनि पार्टीमा प्रवेश गर्ने गरेको स्वीकार गर्नुभयो। यद्यपि, एक–दुई जना गलत मान्छे परे भन्दैमा नयाँ मानिसलाई स्थान दिनबाट पछि हट्न नहुने उहाको भनाइ थियो। उहाले यही उदारताका कारण राप्रपा अगाडि बढिरहेको दाबी गर्नुभयो।

लिङ्देनले नेतृत्वको पदलाई जीवनभरि टाँसिरहनुपर्छ भन्ने मान्यताको आफू विरोधी रहेको र नयाँ पुस्ताका लागि ठाउँ खाली गर्नुपर्छ भन्नेमा विश्वास राख्ने बताउनुभयो।

राजनीतिक मान्यताविपरीत संसद चल्यो, रास्वपा र राप्रपाको आवाजलाई दबाइयो

संसद राजनीतिक मूल्य तथा मान्यताविपरीत चलिरहेको बताउदै उहाले राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को आवाजलाई जानाजानी दबाइएको बताउनुभयो।

लिङ्देनले प्रजातन्त्रमा प्रत्येक सांसदको आवाज सुन्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “हाम्रो परिकल्पना के हो भने संसद्‍मा प्रतिनिधित्व गर्ने एक जना सांसदको पनि आवाज सुन्नुपर्छ।” तर, राप्रपा र रास्वपाजस्ता दुई ठूला दलको विरोधलाई पनि सुनुवाइ नगरिएको उहाको गुनासो थियो।

संसद्मा आफ्ना कुरा नसुनिएपछि अब यी दुई दल सडकमार्फत आफ्नो आवाज उठाउन बाध्य हुने उहाले चेतावनी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्