काठमाडौँ, १४ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताएकी छन् ।
बलिदान दिवस तथा सहिद सप्ताहका अवसरमा अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेजमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ पुस्ता नयाँ उत्साह र योजनाका साथ अघि बढ्नुपर्ने बताएकी हुन् ।
अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी स्थायी समिति सदस्य समेत रहेकी मन्त्री शर्माले अघिल्लो पुस्ताको बलिदानका आजको पुस्ताले राजनीतिक स्वतन्त्रता प्राप्त गरेको बताइन् ।
‘‘आजको तपाईँको पुस्ता यसकारण भाग्यमानी हो, जसले निरङ्कुशता भोग्नुपरेको छैन । जेल, नेल, यातना सहनुपरेको छैन,’’ उनले भन्नि, ‘‘हिजोको पुस्ताले बगाएको आशु, रगत र पसिनाको योगफल नै आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो, यसकै परिणाम आजको पुस्ता स्वतन्त्रताको खुला आकाशमा रमाउन पाएको छ ।’’
त्यसैले स्वतन्त्रता सेनानीको रूपमा रहेका अग्रज पुस्ताको सम्मान गर्दै नयाँ पुस्ता अबको युगको नेतृत्व लिन तयार हुनुपर्ने उनले स्पष्ट पारेकी थिइन् । ‘‘पुरानो पुस्ताको बलिदानका कारण राजनीतिक व्यवस्था बदलियो,’’ मन्त्री शर्माले भन्नि, ‘‘अब बदलिएको राजनीतिक व्यवस्थाको फराकिलो धरातलमा टेकेर नयाँ पुस्ताले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व लिनुपर्छ ।’’





