काठमाडौँ, ४ पुस । प्रतिनिधिसभाको निर्वाचनमार्फत उदाएका नयाँ राजनीतिक दल सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउने क्रम सुरु भएको छ ।
सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले सम्पर्क गरेका हुन् ।
आइतबार ती राजनीतिक दलले संसदीय प्रक्रियाका बारेमा जानकारी लिएका सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले बताए ।
उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि आएर संसदीय प्रक्रिया र आफूहरु रहने कार्यालयका बारेमा जानकारी लिएका हुन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि ती दलले आइबार सम्पर्क गरेका थिए ।
उक्त निर्वाचनमा नेपाली कांग्रेस पहिलो दलका रुपमा स्थापित भएको छ । प्रत्यक्षमा कूल ५७ स्थानमा विजयी भएको उक्त दलले समानुपातिक निर्वाचन प्रणालीमा ३२ सिट पाएको छ । यस आधारमा कांग्रेस ८९ सिटसहित पहिलो बनेको हो ।







