काठमाडौं, १८ पुष । दक्षिणी स्विट्जरल्याण्डको क्रान्स–मोन्टानामा रहेको स्की रिसोर्टस्थित एक बारमा आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ। स्थानीय प्रहरीले दिएको जानकारीका आधारमा बिबिसीले जनाएको अनुसार नयाँ वर्षको उत्सवकै क्रममा आगलागी हुँदा थप ११५ जना घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।
भिडभाड अत्यधिक भएको समयमा राति करिब १:३० बजे आगो लागेको थियो। नयाँ वर्ष मनाउन आएका युवा पुस्ताको ठूलो जमघट रहेको उक्त बारमा आगलागी हुँदा ठूलो जनधनको क्षति भएको बताइएको छ।
स्थानीय क्यान्टनका प्रहरी प्रमुख फ्रेडरिक गिस्लरका अनुसार मृतकको औपचारिक संख्या पुष्टि गर्ने प्रक्रिया जारी छ। गम्भीर जलन भएका घाइतेको संख्या बढी भएकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
आगो कसरी सल्कियो भन्ने विषयमा यकिन विवरण सार्वजनिक भइसकेको छैन। तर केही मिडियाले बेसमेन्टतर्फ ‘जन्मदिनमा प्रयोग हुने फाउन्टेन क्यान्डल’ काठको छत नजिक राखिएको कारण आगो लागेको हुनसक्ने दाबी गरेका छन्। प्रहरीले भने घटना सम्बन्धी अनुसन्धान जारी रहेको जनाएको छ।
बारमा स्विट्जरल्याण्डका मात्रै नभई विभिन्न देशका नागरिक पनि उपस्थित रहेको बताइएको छ।







