काठमाडौँ, २६ फागुन । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समीकरणले आफ्नो पार्टी सिध्याउने अभियान टुटेको दाबी गरेका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले देश भित्र र बाहिरका केही शक्तिहरूले एमाले सिध्याउने प्रयोजनका लागि बनाएको काँग्रेस नेतृत्वको आपराधिक गठबन्धन टुटाएर नयाँ समीकरण बनाउन आफूहरू सफल भएकाले यसलाई सकारात्मक रुपमा लिएको बताएका हुन् ।
पार्टीको काठमाडौँ महानगरपालिका वडा नम्बर ५ को १२ औं अधिवेशनमा शनिबार बोल्दै उनले नयाँ सत्ता समीकरणलाई पनि मिशन-२०८४ पूरा गर्न सहयोगीको रुपमा प्रयोग गर्ने योजना समेत सार्वजनिक गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले २०८४ सालको निर्वाचनमा पार्टीलाई एक्लै बहुमतमा पुर्याउने लक्ष्यसहित अघि बढाएको मिसन २०८४ जारी रहने र त्यस अभियानलाई सहयोग गर्न सरकार र सत्तारुढ गठबन्धनलाई पनि उपयोगमा ल्याउने पार्टीको योजना रहेको बताए ।
उनले नयाँ सत्ता समीकरणमार्फत् मुलुकको बेथितितर्फ गइरहेको राजनीतिलाई सही दिशामा ल्याउन सक्दो कोशिश गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।





