काठमाडौँ, ९ पुस । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा भोलि सकिँदै छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा दाबी गर्न दलहरुलाई भोलि बेलुका ५ बजेसम्मको समय दिएकी छन् । बहुमत पुर्याउने दलले भोलि बेलुकी ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ ।
२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत पुर्याउन १ सय ३८ सिट चाहिन्छ । कांग्रेस र एमालेबाहेक कुनै पनि दुई दल मिल्दा बहुमत पुग्ने अवस्था छैन । तर सत्ता गठबन्धनका मुख्य दल कांग्रेस र माओवादी केन्द्र निरन्तर छलफलमा भए पनि अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन ।
शुक्रबार बेलुकाको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुट्न नसकेपछि आज फेरि छलफलको तयारी छ । गठबन्धनकै सरकार गठनका लागि आज दिउँसो ३ बजे पुन: छलफल हुने नेताहरुले बताएका छन् ।
देउवा र प्रचण्डबीच हिजो भएको छलफलमा नयाँ सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने विषयमा कुरा मिल्न सकेन । कांग्रेस सभापतिसमेत रहेका देउवाले ठूलो दलको हैसियतले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने अडान लिएका छन् भने प्रचण्डले आफूलाई प्रधानमन्त्री नछाडे गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् ।







