काठमाडौँ, १० पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई दिएको समयसीमा सकिनै लाग्दा पनि नयाँ सरकारको नेतृत्वमा सहमति जुट्न सकेको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसबीचमा पटक पटक छलफल र वार्ता भए पनि नयाँ सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने विषयमा कुरा मिल्न बाँकी छ ।
गठबन्धन दलहरुबीच आज फेरि छलफल गर्ने तयारी छ । कांग्रेस सभापतिसमेत रहेका देउवाले ठूलो दलको हैसियतले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने अडान लिएका छन् भने प्रचण्डले आफूलाई प्रधानमन्त्री नछाडे गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् ।
गठबन्धनबाट नभए एमालेसँग मिलेर भए पनि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रचण्डको तयारी छ । राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न दिएको एक हप्ताको समयसीमा आज सकिँदैछ ।
राष्ट्रपति भण्डारीले गएको पुस ३ गते दलहरूलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न आज बेलुका ५ बजेसम्मको समयसीमा दिएकी थिइन् । यसअघिका छलफलमा नेताहरु टसमस नभएपछि आज बिहान १० बजे पुन: बैठक बोलाइएको छ ।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमत पुर्याउने दलले आज बेलुका ५ बजेभित्र प्रधानमन्त्रीमा दाबी पेस गर्नुपर्नेछ । धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६ को २ बमोजिम राष्ट्रपतिले आह्वान गरेकी थिइन् । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत पुर्याउन १ सय ३८ सिट चाहिन्छ ।







