काठमाडौँ, ११ पुस । नयाँ सरकार गठन भएसँगै शेयर बजार उच्च अङ्कले बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज सोमवार ५६ दशमलव ८८ अङ्कले बढेर एक हजार नौ सय २४ दशमलव शून्य नौ विन्दुमा पुगेको छ । अन्यबाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
त्यस्तै बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई सय ५० वटा कम्पनीको ५६ लाख ५३ हजार कित्ता शेयर दुई अर्ब नौ करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको २० करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भयो ।







