Logo

नराम्रा कुराको बदला लिन साथीको हत्या !



उदयपुर, २४ चैत । उदयपुरको बेलका नगरपालिका–३ बुद्धचोक बस्ने १५ वर्षीया कविता सुनुवारको आफ्नै साथीले हत्या गरेको खुलेको छ । नराम्रो कुरा गरेको रिसको बदला लिन हत्या गरिएको खुलेको छ । कविताको मङ्गलबार बिहान स्थानीय जशोदा खोलाको किनारमा व भेटिएको थियो ।

कविताकी साथी बेलका–३ बस्ने १७ वर्षीया सरिता ढकाल खत्री र उनको ठूलाबुबाको छोरा भारत सिक्किम पैयु घर भई बेलाका बस्दै आएका १९ वर्षीय विनोद ढकाल हत्यामा संलग्न देखिएका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले उदयपुरले बुधबार सार्वजनिक गरेको छ ।

कविताको हत्यामा संलग्न रहेकामा १७ वर्षीया सरिता र उनको ठूलाबुबाको छोरा १९ वर्षीय विनोद कविताको हत्यामा संलग्न भएको पुष्टि गर्दै प्रहरीले सार्वजनिक गरेको हो । कोशी जनता माविमा कक्षा १० मा अध्ययरत कविता एसइईको तयारी गर्ने क्रममा मङ्गलबार बिहानै ४ बजे ट्युसन पढ्न स्कुल गएकी र स्कुलमा पनि नपुगेको तथा उनको शव मङ्गलबार बिहान ५ः३० बजेतिर घरभन्दा दुई किलोमिटर पर जशोदा खोलाको किनारमा मृतावस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तत्काल अनुसन्धनाको क्रममा प्रहरीले सरिता र विनोदलाई पक्राउ गरेर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बोहराले बताए । मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा कविता हत्यामा संलग्नमध्ये विनोदलाई प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रहरीका अनुसार कविता र सरिता दुवै कक्षा १० मा कोशी जनता मावि बेलकामा अध्ययरनत रहँदै आएको प्रहरीले बताएको छ । कविता र सरिताबीच केही द्वन्द्व रहेको र कविताले सरितालाई नराम्रा कुरा गर्ने गरेको कारण सरिताले सहन नसकेर ठूलाबुबाको छोरा विनोद ढकाललाई भनेर कविताको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

मङ्गलबार बिहान कवितालाई सरिताले मोबाइलमा एसएमएस गरेर चाँडै ट्युसन जान खबर गरेको र सरिताले दाजु विनोदलाई पनि सँगै लिएर पर जङ्गलसम्म गएको प्रहरीको अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ ।

बाटोमा कविता र सरिताको भेट भएपछि पछाडिपट्टिबाट विनोदले लुकाएर बोकेको बियरको बोतलले कविताको टाउकामा हानेपछि कविता भुइँमा बेहोस भई लड्न पुगेको तथा सोही क्रममा सरिता र विनोदले नजिकैको जशोदा खोलाबाट केही ढुङ्गा बोकेर ल्याई कविताको टाउको र अनुहारमा हानेपछि कविताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतको आदेशानुसार हत्यामा संलग्न विनोदलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर कविताको हत्याको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा चलाउन तयारी गरेको र सरितालाई भने बालगृहमा राखेर मुद्दा चलाउने तयारी भएको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्