काठमाडौँ, २१ मंसिर । सरकारले नर्वे र फिनल्यान्ड सरकारबाट प्राप्त पाँच अर्ब रुपैयाँ बढी अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मङ्सिर २० गते मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
आज बुधवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्यान्ड र नर्वे सरकारबाट सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी गराएका हुन् ।
उनका अनुसार फिनल्यान्डबाट प्राप्त हुने १९ मिलियन युरो झन्डै दुई अर्ब ५४ करोड र नर्वे सरकारबाट प्राप्त हुने झन्डै दुई अर्ब ५७ करोड रुपैयाँ बराबरको अनुदान सहायता सरकारले स्वीकार गरेको हो ।







