
काठमाडौं, १२ चैत । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुने भएको छ।
संघीय संसद् सचिवालयका अनुसार शपथ समारोहका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्।
यसअघि ज्येष्ठ सदस्य केसीले भने बुधबार रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।
सचिवालयका अनुसार केही सांसदहरूले नेपालीबाहेक अन्य भाषामा पनि शपथ लिने तयारी गरेका छन्। कुल ४७ जनाले फरक भाषामा शपथ लिने योजना रहेको छ, जसमा १७ जनाले मैथिली भाषामा शपथ लिने बताइएको छ।
शपथ ग्रहण कार्यक्रम नेपालको संविधानको धारा ९९ तथा सम्बन्धित कानुनी व्यवस्थाअनुसार सञ्चालन गरिनेछ। कार्यक्रममा सहभागी हुन सांसदहरूलाई आवश्यक कागजातसहित समयभन्दा दुई घण्टा अगाडि उपस्थित हुन अनुरोध गरिएको छ।
हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी १८२ सिट प्राप्त गरेको छ। त्यसपछि नेपाली कांग्रेसले ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले २५, नेपाल कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरेका छन्।






