नवलपरासी, १९ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका १० वटा मतदानस्थललाई अति संवेदनशीलमा राखिएको छ ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लाका मतदानस्थलको अवस्था विश्लेषण सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले जिल्लामा रहेका मतदानस्थलको सुरक्षाका दृष्टिले लेखाजोखा सुरु गरको छ । त्यही आधारमा जिल्लाका १० मतदानस्थल अति संवेदनशीलमा राखिएको जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।
निर्वाचनमा मतदानस्थलमा आवश्यक सुरक्षा प्रबन्धनका लागि जिल्लामा रहेका एक सय १३ मतदानस्थललाई तीन तहमा बाँडिएको छ । जसअन्तर्गत १० वटा मतदानस्थललाई अति संवेदनशीलमा राखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
भौगोलिक विकटता, विगतको सुरक्षा विश्लेषण, राजनीतिक दलबीचको प्रतिस्पर्धा, सञ्चार, ‘रेस्पोन्स टाइम’, सामाजिक संरचना आदिको आधारमा जिल्लाका १० वटा मतदानस्थललाई अति संवेदनशीलमा राखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । ३८ वटा मतदानस्थललाई संवेदनशीलमा राखिएको छ भने ६५ वटा मतदानस्थललाई सामान्यमा राखिएको उनले बताए ।