झापा, १८ पुष । ऊर्जा उत्पादनमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्यसहित स्थापना भएको झापा इनर्जी लिमिटेडको सातौँ वार्षिक साधारणसभा बिर्तामोडमा सम्पन्न भएको छ।
कम्पनीका अध्यक्ष लालप्रसाद साँवा लिम्बुको अध्यक्षतामा शुक्रबार सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन, आम्दानी–व्यय विवरण तथा भविष्यका योजना बारे छलफल गरेर पारित गरेको छ।
२०७५ असोज १६ मा दर्ता भएको कम्पनीले झापाको शिवसताक्षी–४ बुलुचोकस्थित १० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाको निर्माणका लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरीद–बिक्री सम्झौता २०७८ मंसिर १२ मा गरेको थियो। आयोजनाका लागि झापा इनर्जी र यसको सहायक संस्था झापा एग्रो इन्डस्ट्रीज प्रालिमार्फत गरी कूल २१ बिघाभन्दा बढी जग्गा खरिद गरिएको कम्पनीले जानकारी दिएको छ।
२०८० माघ १० गतेदेखि व्यवसायिक उत्पादन थालेपछि आयोजनाबाट उत्पादित ऊर्जा ३३ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत दमक वितरण केन्द्रअन्तर्गतको बुलुचोक सब–स्टेसनमा जडान भई राष्ट्रिय ग्रिडमा प्रवाह भइरहेको प्रवन्ध सञ्चालक सुवास भट्टराईले सभामा प्रस्तुत प्रतिवेदनमार्फत स्पष्ट पारे।
गत आर्थिक वर्ष ०८१/०८२ मा परियोजनाबाट १ करोड २४ लाख ८५ हजार ६० युनिट विद्युत बिक्री गरी कम्पनीले ९ करोड १० लाख ५९ हजार ४७५ रुपैयाँ आम्दानी गरेको छ। त्यस्तै, चालु वर्षको साउन १ देखि मंसिर मसान्तसम्म ६५ लाख २१ हजार २६० युनिट विद्युत बिक्रीबाट ४ करोड ७० लाख ९३ हजार ४७९ रुपैयाँ राजस्व आर्जन भएको प्रतिवेदनमा उल्लेख छ।
कम्पनीले पहिलो चरणमा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गरेको थियो, जसअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय, विदेशमा रहेका नेपाली, कर्मचारी तथा सर्वसाधारण गरी विभिन्न समूहलाई सेयर वितरण गरिएको अध्यक्ष साँवाले जानकारी दिए।
कार्यक्रममा बिर्तामोड नगरप्रमुख तथा कम्पनीकी सञ्चालक पवित्रा महतरा प्रसाईले स्वागत मन्तव्य राखेका थिए। राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललगायतका अतिथिको उपस्थिति रहेको कार्यक्रममा सेयरधनीहरूको उल्लेख्य सहभागिता थियो।








