Logo

‘नाइरोबी फ्लाइ जातको किरा देखिने क्रम बढे पनि डराउनुपर्ने अवस्था छैन्’



काठमाडौँ, २५ असार । नाइरोबी फ्लाइ जातको किरा देखिने क्रम बढे पनि डराउनुपर्ने अवस्था नरहेको डाक्टरले बताएका छन् ।

अहिले नेपालको पूर्वी भेग तथा पश्चिमको कञ्चनपुरमा यो जातको किरा देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखा प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिए ।

काठमाडौँको सिभिल अस्पतालमा यो किराका कारण सङ्क्रमित भएका दुई जनाको उपचार गरिएको छ । दाहालका अनुसार गएको वर्ष पनि यो किराको सङ्क्रमणका कारण तीन/चार बिरामी भेटिएका थिए । यो किरा बाहिरबाट आएको नभई यहीँ उत्पादन भएको हो । यो किराले लामखुट्टे जस्तो एउटा व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण नसार्ने र जनस्वास्थ्यमा ठूलो रुपमा सङ्क्रमण नल्याउने उनले बताए ।

मानिसको शरीरमा आएर बस्ने र मानिसले किरालाई हातले फाल्दा किरामा थिचिन गई रस निस्कन्छ । त्यो रसमा रहेको पेडेरिन तत्व एसिडले छालामा सङ्क्रमण गराउँदछ । उनी किरालाई शरीरबाट सजिलै फाल्नसक्ने हो भने सङ्क्रमण नहुने बताउछन् ।

एसिड छालामा लागेपछि २४ घण्टाभित्रमा छाला रातो हुने, बिबिरा आउने, जनैखटिरा आउने, चिलाउने जस्ता लक्षण देखिने महाशाखाको किटजन्य शाखा प्रमुख डा.दाहालले जानकारी दिए ।

लक्ष्यण देखिएकामध्ये पनि धेरैलाई आफैँ सञ्चो हुने र सञ्चो नभए नजिकैको स्वास्थ्य सस्थामा उपचारका लागि जानुपर्ने हुन्छ । प्राय:जसो सडेगलेका खानेकुरा, मरेको जनावर र फोहरमैला भएको ठाउँमा यस्तो किराको जोखिम हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्