काठमाडौं, २२ असार । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक पत्र सभामुख देवराज घिमिरेलाई बुझाएको छ।
संसदीय दलको बैठकले शनिबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। निर्णयअनुसार आइतबार पत्र बुझाएको हो।
दलले आइतबार नै दिउँसो ४ बजे प्रधानमन्त्रीलाई भेटेर जानकारी गराउँदै छ। सरकारमा रहेको दलले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्नेछ।
प्रतिनिधिसभामा नाउपाका ४ जना सांसद छन्। नाउपामा अध्यक्ष रन्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीको विवादले सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो।