काठमाडौँ, ३ साउन । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । मुख्य सुरुङ मार्ग करिब ५१५ मिटर र सहायक टनेल करिब ४५ मिटर खन्न बाँकी छ ।
आयोजनाका इन्जिनियर रमेश कोइरालाले मुलुकका अन्य आयोजनाका तुलनामा यस सुरुङ मार्गको काम तीव्र गतिमा भइरहेको बताउँदै मुख्य र सहायक सुरुङ खन्ने काम क्रमशः असोज र साउनभित्र सम्पन्न हुने जानकारी दिए । उनका अनुसार आयोजनाको समग्र भौतिक र आर्थिक प्रगति क्रमशः ७५ र ६१ प्रतिशत छ।
सुरुङ मार्ग सञ्चालनयोग्य बनाउन भने करिब एक वर्ष लाग्ने छ । सुरुङभित्र आवश्यक प्रकाश, हावा, सिसिटिभी, नियन्त्रण प्रणाली, फायर हाइड्रेन्ट, आगो नियन्त्रण प्रणाली, टेलिफोन जडान गर्नुका साथै भित्ताको प्लास्टर, रङ्गरोगन, भुइँको कालोपत्रेलगायतका काम गर्न एक वर्ष लाग्ने इन्जिनियर कोइरालाले बताए ।
यस अनुसार आयोजनाको म्याद फेरि थप्नुपर्ने हुन्छ। आयोजनाको अवधि २०८० वैशाखसम्म रहेकोमा २०८१ वैशाखसम्म थपिएको छ । थपिएको म्याद अनुसार अब दस महिना निर्माण अवधि बाँकी छ । तर सुरुङ खन्ने काम सकिएको एक वर्षपछि मात्र सञ्चालनमा आउन सक्ने भएकाले आयोजनाको म्याद फेरि थप्नुपर्ने अवस्था आउन लागेको हो ।
२०७६ मङ्सिरदेखि यस आयोजना निर्माण अवधि ४२ महिना तोकिएको थियो । २०७६ कात्तिकमा सो सुरुङ मार्ग शिलान्यास गरिएको थियो । सुरुङ खनिसकेपछि त्यहाँ ३० सेन्टिमिटर बाक्लो ढलान गर्नु पर्छ । अन्य सडकमा गरिने कालोपत्रेभन्दा यो निकै बाक्लो भएको उनले बताए । अन्य सडकजस्तो सुरुङ मार्ग बारम्बार बनाइरहन नसकिने भएकाले बिचमा कुनै समस्या नआओस् भनेर बाक्लो गरी ढलान गर्नु पर्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।







