काठमाडौँ, २२ कात्तिक । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानलाई कार्यान्वयनमा ल्याउँदै नागरिकको मानव अधिकार संरक्षण गर्न जरुरी रहेको बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को २७औँ साधारणसभाको सन्दर्भमा आज यहाँ आयोजित ‘आजको सन्दर्भमा मानव अधिकार:संवैधानिक हक र प्रचलन’ विषयक अन्तरक्रियामा उनले संविधान बनाउनेहरूले कार्यान्वयन गर्ने इच्छाशक्ति देखाउनुपर्ने बताएका हुन् ।
“संविधान अनुकूलका कानुन बनाउन ढिलाइ भइरहेको छ, बनाउनुपर्ने कानुनको सरकारी विधेयक आएको छैन, गैरसरकारी विधेयक आउने वातावरण नै छैन”, उनले भने, “सरकारले संसद्लाई बिजनेस दिए कानुन बन्ने हो, तर विधेयक नै आएको छैन ।”
संविधान कार्यान्वयन गर्ने विषयमा सबैले ध्यान दिनुपर्नेमा जोड दिँदै उनले संविधानअनुसारका कानुन बनाउन सरकारले बढी ध्यान दिनुपर्ने बताए । उनले राष्ट्रियसभामा आएका विधेयकहरूलाई प्राथमिकता दिएर अघि बढाएको जानकारी गराएका थिए ।







