विराटनगर, ३० असोज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य भएको बताएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरमा ‘६८औँ प्रहरी दिवस’ को अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कर्तव्य पालनका क्रममा नेपाल प्रहरीले जोखिम लिने गरेकाले नै यो सङ्गठन राम्रो र जनताबीच लोकप्रिय बनेको बताएका हुन् ।
उनले कर्तव्य पालना गर्दा केही जोखिम हुने भए पनि परिणाम राम्रो आउनुको असल उदाहरण प्रहरी सङ्गठन भएको बताए । मुख्यमन्त्री कार्कीले पहुँचको आधारमा कुनै पनि अपराधी तथा गलत व्यक्तिलाई उन्मुक्ति दिन हुने उल्लेख गर्दै प्रदेश प्रहरीलाई बलियो र चुस्तदुरुस्त बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले भने, “अरुलाई सुरक्षा दिने निकाय पनि सुरक्षित हुनुपर्छ, अन्यथा सेवाग्राहीले उचित लाभ र सुरक्षित महसुस गर्न सक्दैनन् ।”







