काठमाडौँ, १२ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारूढ गठबन्धनले भ्रम फिँजाउने कोसिस गरिरहेको आरोप लगाएका छन् ।
विगतमा ६० वर्ष उमेर पुगेकालाई एमालेले मार्छ भनेर भ्रम छरेजस्तै अहिले पनि नागरिकता दिने कुरामा एमाले बाधक बन्यो भनेर भ्रम फैलाउने कोसिस सत्तारूढ दलहरूले गरिरहेको भन्दै अध्यक्ष ओलीले त्यसको खण्डन गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिएका हुन् ।
बिहीवार केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकमा बोल्दै उनले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने काम किन अल्झाएर राखेको? भन्दै सरकारलाई प्रश्नसमेत गरेका छन् । नेकपा एमाले नागरिकको हरेक समस्या समाधान गर्दै आएको र गर्ने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले नागरिकताको समस्या स्थायी रूपमा समाधान गर्न आफ्नो पार्टीले चाहेको बताए ।







