Logo

नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको भिड



उर्लाबारी, साउन १३ गते । मोरङको उर्लाबारी -२ स्थित इलाका प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०८०-८१ मा ११ हजार ४९० जनाले राहदानी लिएका छन् । ४ हजार ५२१ जना महिला र ६ हजार ७९४ जना पुरुषले राहदानी लिएको प्रशासन कार्यालयका राहदानी शाखाका कर्मचारी विजय गोठाले गौतमले बताउनुभयो ।

जसमध्ये १७५ जनाले बाह्य कार्यालयबाट सिफारिस भएर उर्लाबारी कार्यालयमार्फत राहदानी लिएका हुन् । कार्यालयबाट नागरिकता लिनेभन्दा राहदानी लिनेको सङ्ख्या बढी देखिएको छ । सोही अवधिमा ७ हजार ९२ जनाले नागरिकता लिएका थिए ।

आर्थिक वर्ष २०७९-८० मा ४ हजार ४८९ जना महिला र ६ हजार ४९६ जना पुरुष गरी कुल १० हजार ९८५ जनाले राहदानी लिएका छन् । कार्यालयले सोही अवधिमा ९ हजार ५०२ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७८-७९ मा इलाका प्रशासन कार्यालय उर्लाबारीबाट १ हजार ५९ महिला र १ हजार ५९९ जना पुरुष गरी कुल २ हजार ६५८ जनाले राहदानी लिएका थिए ।

कार्यालयबाट आर्थिक वर्ष २०८०-८१ मा १७ हजार ७४० जनाले राष्ट्रिय परिचयपत्रको फारम भरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २५ हजार ७६ जनाले राष्ट्रिय परिचयपत्रको फारम भरेका थिए । कार्यालयबाट बैबाहिक अङ्गीकृत नागरिता लिनेको सङ्ख्या पनि बढेको छ ।

कार्यालयले दिएको तथ्याङ्कअनुसार २०७८-७९ मा २८ जनाले नागरिकता लिएका थिए । आर्थिक वर्ष २०७९-८० मा ५६ जनाले र आव २०८०-८१ मा ६६ जनाले नागरिकता लिएका छन् ।

राहदानी बनाउनुअघि अनिवार्य राष्ट्रिय परिचयपत्रको फारम भर्नुपर्ने भएपछि इलाका प्रशासन कार्यालय उर्लाबारीमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्