काठमाडौँ, ८ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘सेरेमोनियल’ राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुईपटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेकोे बताएकी छन् ।
मध्यपुरथिमिमा शङ्खधर बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभामा आज उनले संवैधानिक राष्ट्रपतिले संसद्बाट पुन: पारित गरी पठाएको विधेयक प्रमाणीकरण नगरेर देशलाई सङ्कटतर्फ धकेल्न खोजेको बताइन् ।
मन्त्री भुसालले भन्नि, “नेपालको संविधानले राष्ट्रपति संस्थालाई निर्णय गर्ने र गल्ती गर्ने अधिकार दिएको छैन, राष्ट्रपतिले दुईपटक संसद् भङ्ग गरेर र अहिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर तीनपटक देशलाई गम्भीर सङ्कटतर्फ धकेल्नुभएको छ ।” मङ्सिर ४ गतेको निर्वाचन रोकेर देशलाई सङ्कटतर्फ धकल्न त खोजिएको होइन भन्ने आशङ्का पैदा भएको भन्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सचेत हुने बेला आएको बताइन् । विगतमै भएको निर्णय र संविधानले नै परिकल्पना गरेअनुरुप नै आएको नागरिकता विधेयक दुवै संसद्बाट पारित गरेको भन्दै मन्त्री भुसालले नागरिकता विधेयकका विषयमा भ्रममा नपर्न आग्रह गरेकी छन् ।
संविधानअनुसार पहिलेका सरकारले ल्याएका विधेयक र अध्यादेशमै समेटिएका विषयलाई दुवै संसद्ले पारित गरेको नागरिकता विधयेक प्रमाणीकरण नगरेर भ्रम फैलाउन खोजिरहेको भन्दै उनाले राष्ट्रपति जस्तो सम्मानित संस्थाले जनताको आकांक्षालाई पूरा गर्नुपर्नेमा जोड दिइन् ।







