सिन्धुली, १३ साउन । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार विदेशीले चलाएको आरोप लगाएका छन् । प्रेस चौतारी सिन्धुलीद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उपाध्यक्ष पौडेलले गठबन्धन सरकारले देशलाई निकास दिन नसक्ने ठोकुवा गरे ।
उनले गठबन्धन सरकारले संसदबाट पारित गरेको नागरिकता विधेयक विदेशीको इशारामा ल्याएको र यो सरकार विदेशीको कठपुतली भएको बताए । सरकार विदेशीको ईसारामा चलेको नागरिकता विधेयकले पुष्टि गरायो, सरकारले ल्याएको बजेटको नाटक र नागरिकता विधेयकले सरकार विदेशीको इशारामा चलेको पुष्टि हुन्छ ’,उनले भने ।
उनले बजेट वक्तव्यमा देखिएको तमासाले आम नागरिकमा सरकारको गोपनियता र विश्वास दुवै गुमेको बताउँदै तोकिएको समयमा संघ तथा प्रदेशको निर्वाचन नगराउने षडयन्त्रमा लागेको बताए ।
एमाले निर्वाचन सार्ने गठबन्धनको षड्यन्त्रको मुकाबिला गर्न तयार रहेको उनले बताए ।







