रुपन्देही, २८ चैत । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताएका छन् ।
प्रेस सेन्टर रुपन्देहीले मङ्गलवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संवैधानिक रूपमै नागरिकताको अधिकार भएकाहरूलाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने बताएका हुन् ।
‘मैले गृहमन्त्रीका रूपमा कार्यभार सम्हालेदेखि नै भनेको छु, यो देशको संविधानअनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न सकिन्न, नागरिकताविहीन भएको पीडा हामीले बोध गर्न सक्नुपर्छ’, उनले भने, ‘संविधानअनुसार नागरिकता पाउने गरी बनाइएको विधेयक अगाडि बढाउँछौँ ।’
उनले नागरिकता सम्बन्धित केही विषयमा भने राष्ट्रिय सहमति आवश्यक रहेको बताए । त्यसबारेमा सबै राजनीतिक पार्टी एवम् राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तित्वसँग छलफल गरिने उनको भनाइ छ ।
उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी काम अझै पनि बाँकी रहेकाले यसलाई पूरा गरिनुपर्ने बताए । यो पूरा भएमात्रै शान्ति प्रक्रिया समग्रमा पूरा हुने मन्त्री श्रेष्ठको भनाइ छ ।
‘यसका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पूरा गर्नुपर्छ’, श्रेष्ठले भने, ‘यसका लागि हामी फेरि पनि संसदमा प्रवेश गरेका छौँं, यो कामलाई पूर्णता दिन्छौँ ।’







