Logo

नागरिकता विधेयक पारित गर्न छलफल भइरहेकाे छ: गृहमन्त्री



काठमाडौँ, १५ असार । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धी विधेयक पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

सो विधेयकको सम्बन्धमा निष्कर्ष निकाल्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरे । उनले एकीकृत सामाजिक सुरक्षा ऐन बनाउने सम्बन्धमा सरकारले गृहकार्य गर्ने पनि बताए ।

“नागरिकतासम्बन्धी विधेयक यो समितिमा झन्डै २२ महिना छलफल भएर प्रतिवेदनको रूपमा अहिले प्रतिनिधिसभामा छ । त्यसका बारेमा माननीय तहमा पनि र उच्च तहमा पनि छलफल भइराखेको छ,” उनले भने, “त्यसलाई पनि एउटा निष्कर्ष निकाल्नुपर्ने अवस्था रहेको छ ।”

गृहमन्त्री खाँणले सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई पनि छिट्टै पारित गर्नुपर्ने बताए । संसदीय समितिहरूलाई प्रभावकारी बनाउन सरकार सकारात्मक सहयोग गर्न तयार रहेको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्