काठमाडौं, १४ असार । प्रतिनिधि सभाको आजको बैठकले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८२ पारित गरेको छ ।
गृहमन्त्री रमेश लेखकले बैठकमा पेश गर्नुभएको नेपाल नागरिकता दोस्रो संशोधन विधेयक बहुमतले पारित भएको हो ।
विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री रमेश लेखकले नेपालको नागरिकता पाउनुपर्ने सबै नेपालीले नागरिकता पाउनुपर्ने बताउनुभयो ।
गृहमन्त्री लेखकले बैठकमा नेपालको वर्तमान संविधानको मर्म र सर्वोच्च अदालतको निर्देशनात्मक आदेशहरूका आधारमा नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बताउन नयाँ विधेयक ल्याएको बताउनुभयो ।
यस्तै विधेयकले जन्मका आधारमा नागरिकता प्राप्त गरेका आमा वा बाबुका सन्तानले नागरिकता प्राप्त गर्न सक्ने तथा वैदेशिक रोजगारीका क्रममा विदेशमा जन्मिएका सन्तानले समेत आमाको नामबाट नागरिकता पाउन सक्ने व्यवस्था मिलाएको गृहमन्त्री लेखकले बताउनुभयो ।
यस्तै प्रतिनिधिसभाको आजको बैठकले सरकारको वार्षिक बजेट कार्यान्वयन सँग जोडिएका आर्थिक विधेयक २०८२ र राष्ट्र ऋण उठाउने विधेयक २०८२ पारित गरेको छ ।
प्रतिनिधिसभामा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गर्नुभएका विधेयकहरू बहुमतले पारित भएको हो ।
विधेयक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कर नीतिमा स्थिरता कायम गरी लगानीको वातावरण बनोस् भन्ने उद्देश्यले करका दरहरूमा धेरै हेरफेर नगरिएको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले अनौपचारिक अर्थतन्त्रलाई करको दायरा ल्याउने गरी करको दायरा विस्तार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्ने, लगायतका क्षेत्रमा सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन उद्योगी व्यवसायीलाई प्रेरित गर्न केही क्षेत्रमा कर छुट र सहुलियतका प्रावधान राखिएको र आत्मनिर्भर अर्थतन्त्र र सन्तुलित विकासका लागि अनुकूल हुने गरी करका दरहरू प्रस्ताव गरिएको बताउनुभयो ।
प्रतिनिधि सभाको आजको बैठक पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसदहरूको बिरोधका बीच नै सञ्चालन भयो ।
बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरूले उठेर बिरोध जनाउनुभयो ।
त्यसपछि सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि रास्वपाका सांसद गणेश पराजुलीले सरकार र केही नेताले नै भिजिट भिसा प्रकरणमा संलग्नलाई संरक्षण गर्ने काम गरिरहेको आरोप लगाउनुभयो ।
सांसद पराजुलीले उच्च स्तरीय न्यायिक आयोग गठन हेर्नुपर्ने आफूहरूको माग दोहोर्याउनुहुँदै माग पुरा नभएसम्म विरोध जारी रहने बताउनुभयो ।
यस्तै राप्रपाका सांसद रोशन कार्कीले पनि भिजिट भिसा प्रकरणमा उच्च स्तरीय आयोग नै गठन हुनुपर्ने माग गर्नुहुँदै गृहमन्त्रीलाई चोख्याउन छानबिन आयोग बनेको आरोप लगाउनुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक भोली असार १५ गते आइतबार दिउँसो १ बजे बस्ने छ ।