काठमाडौँ, १६ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा १६.६७ प्रतिशतले आम्दानी बढाएको छ ।
प्राधिकरणले विमानस्थल शुल्कको आम्दानीमा वृद्धि गर्दै उक्त वर्ष रु सात अर्ब ४४ करोड ७१ लाख आम्दानी गरेको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले अघिल्लो वर्ष प्राधिकरणले विमानस्थल शुल्कवापतको ल्याण्डिङ पार्किङ, नेभिगेशन, भाडा आदिबाट आम्दानी गर्न सफल भएको जानकारी दिए ।
उनका अनुसार प्राधिकरणले गत वर्ष रु छ अर्ब ६८ करोड २९ लाख आम्दानी प्रक्षेपण गरेकामा रु सात अर्ब ४४ करोड ७१ लाख आम्दानी भएको छ ।
प्राधिकरणले अघिल्लो आर्थिक वर्ष जम्मा रु ४३ अर्ब ६७ करोड ७७ लाख बजेट विनियोजन गरेकामा रु २१ अर्ब ३२ करोड एक लाख खर्च भएको जनाएको छ । यसमध्ये वित्तिय व्यवस्थापनमा रु सात अर्ब ५३ करोड ३८ लाख विनियोजन गरिएकोमा रु चार अर्ब ६९ करोड ७४ लाख खर्च भएको छ ।






