Logo

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी रिहा



काठमाडौँ, ७ फागुन । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरी रिहा भएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित चौधरी कैलाली कारागारबाट रिहा भएका हुन् ।

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएपछि चौधरी बिहान रिहा भएका छन्  । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आवश्यक प्रक्रिया पूरा गरी चौधरीलाई रिहा गरिएको जानकारी दिएका छन् ।

१३ वर्षको पुरानो आगजनी मुद्दामा दोषी ठहर सांसद चौधरी गएको माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । उनी २० गते चलान भएका थिए । थरुहट आन्दोलनताका बन्दको अवज्ञा गरिएको भन्दै २०६६ साल भदौ ३ गते ट्र्याक्टर जलाएको घटनामा २०७० साल वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्