काभ्रेपलाञ्चोक, १२ साउन । पूर्वराष्ट्रपति डा.रामवरण यादवले देशका नागरिक शिक्षित नभएसम्म राष्ट्र समृद्ध नबन्ने बताएका छन् ।
उनले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-४ डिहीगाउँमा नेपाल भोकेशनल एकेडेमीद्वारा नवनिर्मित भोकेशनल सेन्टर बहुउद्देशीय भवनको शिलान्यास तथा जग्गा हस्तान्तरण समारोहलाई आज सम्बोधन गर्दै उनले देशमा शिक्षा रोजगारमूलक, उद्देश्यमूलक भई कसरी राष्ट्र निर्माणको भावना जोड्ने भन्ने खालको हुनुपर्ने बताएका हुन् ।
“जबसम्म शिक्षित नागरिक देशको हुँदैन तबसम्म देश बन्दैन, आज शिक्षा त हामी दिन्छौँ तर रोजगारमूलक, उद्देश्यमूलक तथा राष्ट्र निर्माणमा कसरी भावना जोड्ने भन्ने खालको हुनुपर्छ । यस्तो शिक्षा कसरी आफ्नो राष्ट्र बनाउने भन्ने सोच भएका व्यक्ति उत्पादन गर्ने खालको हुनुपर्छ”, यादवले भने । उनले मुलुकको शिक्षाले राष्ट्र निर्माणको भावना जागृत गराउनुपर्ने दोहो¥याएका हुन् ।
पूर्वराष्ट्रपति यादवले सीप नहुने व्यक्ति ‘अदक्ष जनशक्ति’ भएकाले लाखौँको सङ्ख्यामा विदेश पलायन हुनुपर्ने बाध्यता भएकोमा चिन्ता व्यक्त गरेका छन् ।







