मेचीनगर, २३ असोज । परिवर्तन थिएटरले नाटक म्लेच्छ मञ्चन गर्ने भएको छ ।
थिएटरले यही असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्म अपरान्ह २ बजे र बेलुका ५:३० बजे गरी दैनिक दुई शो नाटक मञ्चन गर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
आदिवासी समुदायको उद्भव, विस्तार तथा पलायन जस्ता विषयलाई समेटेर तयार पारिएको यस नाटकले समग्र आदिवासी समुदायको मुद्दा उठाउने नाटकका निर्देशक गणेश बस्नेतले बताए ।
पत्रकार पर्वत पोर्तेलले लेखेको यो नाटकमा नयाँ र पुराना गरी १७ जना कलाकारले अभिनय गरेको म्लेच्छ नाटकका कला संयोजक कविता नेपालले जानकारी दिइन् ।
परिवर्तन थिएटरका अध्यक्ष लिला बिष्टका अनुसार यो नाटकले भारतको आसाममा यही नोभेम्बर ४ देखि ९ तारिकसम्म आयोजना हुने तेश्रो अभिनभ इन्टरनेशनल थिएटर फेष्टिवलमा नेपालको प्रतिनिधित्व गर्ने बताइन् ।
मेची सामुदायिक भवन काँकरभिट्टामा मञ्चन हुने नाटक हेर्न विद्यार्थीका लागि एक सय, कलेज पढ्ने विद्यार्थीका लागि १५० र अन्यका लागि २ सय ५० को टिकटको व्यवस्था गरिएको उनले बताइन् ।
उक्त पत्रकार सम्मेलनको सहजीकरण थिएटरका सचिव तथा सञ्चारकर्मी शिशिर चौलागाईले गरेका थिए ।