पेरिस, २१ जेठ । खेल दौरान चोट बोक्न पुगेपछि तेस्रो वरीयताका जर्मन एलेसान्डर जेभेरेभबाट वाकओभर पाएपछि पाँचौ वरीयताका स्पेनिस राफायल नाडाल फ्रेन्च ओपनको फाइनलमा प्रवेश गरेका छन् ।
पेरिसमा शुक्रबार राति भएको खेल दौरान दोस्रो सेटमा लडेर घाइते हुन पुगेपछि जेभेरेभले खेल त्यागेपछि नाडाल उपाधि नजिक पुगेका हुन् ।
कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले पहिलो सेट ७-६ जितेका थिए । दोस्रो सेट ६-६ को स्थितिमा रहँदा जेभेरेभ लड्न पुगेका थिए । त्यसपछि उनले खेल त्याग्नुपर्दा नाडाल कीर्तिमानी १४औं पटक फ्रेन्च ओपन जित्ने संघारमा पुगेका छन् ।
जेभेरेभको चोटपछि नाडाल आँफै आफ्नो प्रतिद्वन्द्वीलाई जाँच गर्न एक चिकित्सकसँगै कोर्टमा पुगेका थिए । त्यहाँको प्राथमिक उपचारपछि उनले बैशाखीको साहरामा समर्थकलाई ताली बजाइरहँदा नाडालले उनलाई अंकमाल गरेर बिदाई गरेका थिए ।
नाडालले उपाधिका लागि आइतबार नर्वेजियन क्यास्पर रुडसँग प्रतिस्पर्धा गर्नेछ ।