जनकपुरधाम, २४ मंसिर । नेकपा एमालेका नेता तथा व्यवसायी शिवशंकर साह ‘हिरा’ नाबालिकामाथि भएको बलात्कार प्रकरणमा भारतबाट पक्राउ परेका छन्। प्रदेश उद्योग वाणिज्य संघ मधेशका पूर्वअध्यक्षसमेत रहेका साहलाई बिहार सीतामढीबाट पक्राउ गरी मंगलबार साँझ धनुषा प्रहरीको जिम्मामा बुझाइएको हो।
जनकपुरधामस्थित साहकै होटलमा केही दिनअघि एक नाबालिकामाथि बलात्कार भएको आरोपमा अनुसन्धान सुरु भएको थियो। सोही मुद्दामा उनका दाजु मनोज साह पहिले नै पक्राउ परेका थिए। मनोज पक्राउ परेपछि भारततर्फ रहेका हिरालाई खोजतलास गरी भारतीय प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीसमक्ष हस्तान्तरण गरेको प्रहरीले जनाएको छ।
यसै प्रकरणमा फलसोम क्याफेका म्यानेजर अमित ठाकुर र पीडित नाबालिकाकी मामासमेत पक्राउ परेका छन्।
हिरा साह २०७९ सालको स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि एमालेबाट उम्मेदवार बनेका थिए।







