भरतपुर, १९ असार । हरेक वर्ष पहिरोले दुःख दिँदै आएपछि नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको छ। त्यसका लागि हाल चार वटा विकल्प देखिएका छन्। तिनमा केही निर्माण कार्य थप्न आवश्यक देखिएको छ ।
एउटा विकल्प पूर्वी नवलपरासीको गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म अहिलेको सडकपारि तनहुँतर्फ त्रिशूलीको किनारैकिनारको छ । त्यस्तै अर्को चितवनको भण्डाराबाट धादिङको मलेखुसम्म अहिले ‘सिङ्गल ट्र्याक’ खोलेर काम अघि नबढाई रोकिएको भण्डारा–मलेखु सडक छ ।
तेस्रोमा नारायणगढ–मुग्लिन सडकमै पर्ने घुमाउनेमा त्रिशूली नदीमाथि अलपत्र परेको पुल बनाउन सके मात्रै पनि नारायणगढबाट पोखरा जाने बाटो खुल्ने र विकल्प बन्ने छ ।
सडक विभागले डिभिजन सडक कार्यालय भरतपुरलाई वैकल्पिक सडकबारे अध्ययन गर्न निर्देशन दिइसकेको छ । डिभिजन सडक कार्यालय भरतपुरका डिभिजन प्रमुख (डिई) रमेशप्रसाद पौडेलले अहिलेको सडकपारि त्रिशूली किनारैकिनार तनहुँतर्फ नयाँ सडक बनाउन सकिने गरी गृहकार्य सुरु भएको जानकारी दिए । “पूर्वी नवलपरासीको गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म सडक बनाउने गरी गृहकार्य हुँदै छ,” उनले भने ।
सुरुमा नयाँ सडक बनाउनु पर्ने ठाउँलाई राष्ट्रिय सडक कायम गरिनुपर्ने भएकाले अहिले त्यो निर्णयका प्रस्ताव मन्त्रीपरिषद्मा लैजान टिप्पणी तयारीको काम भइरहेको उनले जनाए । उक्त टिप्पणी सडक विभाग, भौतिक योजना मन्त्रालय हुँदै मन्त्रीपरिषद्को बैठकमा प्रस्तुत गरिने छ ।
मन्त्रीपरिषद्बाट निर्णय भएलगत्तै नयाँ सडक निर्माणका लागि परियोजनाको विस्तृत अध्ययन डिपिआर बनाउने, स्रोतको खोजी गरी योजना निर्माणका लागि प्रक्रिया अघि बढ्ने छ । आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।





